सारांश
Read the full fact sheet- कुनै कष्टदायी वा डरलाग्दो घटनापछि तपाईंको कडा प्रतिक्रिया आउनु सामान्य हो। कष्टदायी घटना निम्न हुन सक्छन्: डढेलो वा बाढीहरू, तपाईं विरुद्धको अपराध वा हिंसात्मक कार्य, सवारी दुर्घटना, शारीरिक वा यौन दुर्व्यवहार भोग्नु, कष्टदायी घटनाहरू बारेका तस्बिरहरू, समाचार रिपोर्टहरू वा सामाजिक सञ्जालका पोस्टहरू हेर्नु।
- तपाईंले शारीरिक, मानसिक, भावनात्मक र व्यवहारिक जस्ता थुप्रै प्रतिक्रियाहरूको अनुभव गर्न सक्नुहुन्छ। तर सामना गर्न र निको हुन तपाईंले गर्न सक्ने धेरै कुराहरू छन्।
- यदि तपाईंले ३-४ हप्ता पछि पनि लक्षणहरू अनुभव गरिरहनुभएको छ भने, मद्दत लिनु महत्त्वपूर्ण हुन्छ।
On this page
कहाँबाट सहयोग लिने
- तपाईंको जी.पी. (डाक्टर)
- तपाईंको मानसिक स्वास्थ्य विशेषज्ञ, जस्तै मनोचिकित्सक, मनोवैज्ञानिक, परामर्शकर्ता वा सामाजिक सेवाकर्मी
- तपाईंको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्र
- अष्ट्रेलियाली मनोवैज्ञानिक समाज रेफरल सेवा (Australian Psychological Society Referral Service) टेलिफोन 1800 333 497
- फोनिक्स अष्ट्रेलिया सेन्टर फर पोस्ट-ट्रमाटिक मेन्टल हेल्थ (Phoenix Australia Centre for Post-traumatic Mental Health) टेलिफोन (03) 9035 5599
- सेन्टर फोर ग्रिभ एण्ड ब्रिभमेन्ट (Centre for Grief and Bereavement) टेलिफोन 1800 642 066
नि:शुल्क आघात विशेषज्ञ सहायता:
- यदि तपाईं कुनै अपराधको शिकार हुनुभएको छ भने, victimsofcrime.vic.gov.au/services-for-victims-of-crime-[nepali] मा जानुहोस्। तपाईंले अपराध पीडितहरूको हेल्पलाइन लाई 1800 819 817 मा पनि फोन गर्न सक्नुहुन्छ। दोभाषेहरू उपलब्ध छन्।
- यदि तपाईंको बच्चा मेलबर्नभरिका बाल हेरचाह केन्द्रहरू (चाइल्ड केयर सेन्टर) मा बालबालिका विरुद्ध हुने कथित यौन दुर्व्यवहारबाट प्रभावित भएमा, 1800 791 241 मा नि:शुल्क समर्पित सल्लाह सेवा लाइन उपलब्ध छ। दोभाषेहरू उपलब्ध छन्।
- यदि तपाईं कार दुर्घटनामा पर्नुभएको छ भने, एम्बर समुदाय (Amber Community) - सडक दुर्घटना सहायता र शिक्षालाई (03) 8877 6900 वा 1300 367 797मा सम्पर्क गर्नुहोस्।
तपाईंले निम्नबाट सल्लाह लिन सक्नुहुन्छ:
- लाइफलाइन (Lifeline) टेलिफोन 13 11 14
- ग्रिभलाइन (GriefLine) टेलिफोन 1300 845 745
- बियोन्डब्लु (beyondblue) टेलिफोन 1300 22 4636
- नर्स-अन-कल (NURSE-ON-CALL) टेलिफोन 1300 60 60 24 – विशेषज्ञ स्वास्थ्य जानकारी र सल्लाहको लागि (२४ घण्टा, ७ दिन)
- अष्ट्रेलियाली अभिभावकत्व (Australian Parenting) वेबसाइट- raisingchildren.net.au
तपाईंले यो आघात र त्यसबाट स्वास्थ्यलाभ पोडकास्ट सुन्न सक्नुहुन्छ।
तपाईंको भाषामा आघात र त्यसबाट स्वास्थ्यलाभ बारे जानकारीको लागि स्वास्थ्य सम्बन्धी अनुवादहरू मा हेर्नुहोस्।
आघातप्रति तपाईंले कसरी प्रतिक्रिया जनाउन सक्नुहुन्छ
आघातप्रति तपाईंले कस्तो प्रतिक्रिया जनाउनु हुन्छ भन्ने कुरा निम्नमा निर्भर हुन सक्छ:
- दर्दनाक घटनाको प्रकार र गम्भीरता
- तपाईंको पहिलेको अनुभव वा तालिम भए/नभएको कुरा
- तपाईं प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थ्यो वा प्रत्यक्षदर्शी हुनुहुन्थ्यो भन्ने कुरा
- घटना पछि तपाईंलाई उपलब्ध सहयोगको मात्रा
- तपाईंको जीवनमा भइरहेका अन्य तनावपूर्ण कुराहरू
- तपाईं सामान्यतया तनावपूर्ण घटनाहरूको कसरी सामना गर्नुहुन्छ भन्ने कुरा
- पहिलेका कुनै पनि दर्दनाक अनुभवहरू।
जब कुनै कष्टदायी घटनाको अन्त्य हुन्छ, तपाईंले आफूलाई घटनाको अर्थ बुझ्ने प्रयास गरिरहेको पाउन सक्नुहुन्छ। यसमा निम्न कुराहरू बारेको सोच्न समावेश हुन सक्छ:
- यो कसरी र किन भयो?
- तपाईं कसरी र किन संलग्न हुनुभयो?
- किन तपाईं यस्तो महसुस गर्नुहुन्छ?
- तपाईं कस्तो किसिमको व्यक्ति हुनुहुन्छ भन्ने कुरा तपाईंमा आईरहेको भावनाले संकेत गर्छ कि गर्दैन
- अनुभवले जीवनप्रति तपाईंको दृष्टिकोण परिवर्तन गरेको छ/छैन, र कसरी।
तपाईंले भावनात्मक, मानसिक, शारीरिक र व्यवहारिक प्रतिक्रियाहरू पनि अनुभव गर्न सक्नुहुन्छ।
आघात प्रति भावनात्मक प्रतिक्रियाहरू
तपाईंलाई निम्न महसुस हुन सक्छ:
- अत्यधिक तनावग्रस्त, चिन्तित वा डराएको
- आत्तिएँको, अरु केहि हुन लागे जस्तो
- तपाईं खतरामा भए जस्तो
- सुन्न वा स्तब्ध
- अलमल्ल परेको
- अक्सर भावनात्मक र निराश
- अत्यन्तै थकित र पीडित
- निराश
- परिवार र साथीहरू सहित अरूप्रति सुरक्षात्मक हुने
- तपाईं आफ्नो घर छोड्न नचाहे जस्तो
- तपाईं मानिसहरूलाई बेवास्ता र ठाउँहरूबाट टाढा जान खोजे जस्तो।
यी प्रतिक्रियाहरू सामान्य हुन्, र तपाईंले यी प्रतिक्रियाहरू एकैचोटि महसुस गर्न सक्नुहुन्छ।
यो तपाईंको शरीर प्राकृतिक रुपमा निको हुँदै जाने र स्वास्थ्यलाभ प्रक्रियाको एक भाग हो, र धेरैजसो अवस्थामा तपाईंले राम्रो महसुस गर्नुहुनेछ।
आघातप्रति मानसिक प्रतिक्रियाहरू
तपाईंलाई निम्न हुन सक्छ:
- एकाग्रता वा कुराहरू सम्झन समस्या
- नचाहदा नचाहदै, घटनाको बारेमा सोच्ने
- आफ्नो दिमागमा त्यो घटना बारम्बार दोहोरिने
- अलमल्लमा पर्ने वा दिशाहीन हुने।
आघातप्रति शारीरिक प्रतिक्रियाहरू
तपाईंको शरीरमा निम्न हुन सक्छ:
- थकित वा पीडित
- सुत्न गाह्रो
- वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर आउने र टाउको दुख्ने
- अत्यधिक पसिना आउने
- मुटुको उच्च धड्कन दर।
आघातप्रति व्यवहारिक प्रतिक्रियाहरू
तपाईंले निम्न चाहन सक्नुहुन्छ:
- घटनाको सम्झना नगराउन
- के भएको थियो भन्ने बारे सोचिरहने र कुरा गरिरहने
- तपाईंले सामान्यतया दिनहुँ गर्ने कामहरू परिवर्तन गर्ने वा त्याग्ने
- अति बढी वा अति कम खाने
- धेरै रक्सी र/वा कफी पिउने
- धूम्रपान गर्ने
- नसुत्ने।
आघात पछि कसरी निको हुने र स्वास्थ्यलाभ लिने
तपाईंको सुरक्षा वा जीवनलाई जोखिममा पार्ने वा अरूको जीवनलाई जोखिममा पार्ने कुनै पनि कुराले तपाईंलाई तनाव महसुस गराउनेछ। यसलाई 'आपतकालीन स्थिति' भनिन्छ र यो त्यतिबेला हुन्छ जब तपाईंको शरीरले खतराको प्रतिक्रिया दिन खोजिरहेको हुन्छ। हाम्रो शरीरले हामीलाई बाँच्न मद्दत गर्न छोटो समयमा धेरै ऊर्जा दिन खोजिरहेको हुन्छ।
धेरैजसो मानिसहरू 'आपतकालीन स्थिति' मा छोटो समयको लागि रहनेछन्। तर जब अप्रत्याशित घटनाहरू घट्छन् वा तपाईं फेरि तनावमा पर्नुहुन्छ, तब फेरी तपाईं 'आपतकालीन स्थिति' मा फर्कन सक्नुहुन्छ। यही कारणले गर्दा कुनै दर्दनाक घटना पछि तपाईंलाई थकान महसुस हुन सक्छ।
तपाईंको शरीरलाई निको हुन र स्वास्थ्यलाभ लिन मद्दत, तपाईंले आफूलाई 'आपतकालीन स्थिति' बाट बाहिर निस्कन मद्दत गर्नुपर्छ। यसले तपाईंको शरीरलाई रिसेट गर्न र सामान्य ऊर्जा स्तरमा फर्कन मद्दत गर्छ। यो सामान्यतया घटना भएको लगभग एक महिना भित्र हुन्छ।
तपाईंलाई निको पार्न र स्वास्थ्यलाभ लिन मद्दत गर्ने धेरै रणनीतिहरू छन्। तपाईंले निम्न गर्न सक्नुहुन्छ:
- तपाईं कष्टकर वा डरलाग्दो अनुभवबाट गुज्रनुभएको स्वीकार गर्न। तपाईंका प्रतिक्रियाहरू सामान्य हुन्।
- तपाईं आँफू जस्तो महसुस नगर्ने कुरा स्वीकार गर्न, तर यो हट्नेछ।
- तपाईं सामान्य रूपमा काम गर्न नसकेको खण्डमा आफैंसँग रिसाउने वा निराश हुने प्रयास नगर्ने।
- तपाईंलाई सामना गर्न मद्दतको लागि रक्सी वा लागूपदार्थ को प्रयोगबाट बच्न।
- राम्रो महसुस नभएसम्म ठूला निर्णयहरू वा जीवनमा ठूला परिवर्तनहरू नगर्ने।
- आफ्नो सामान्य जीवनमा फर्कन समय निकाल्ने।
- तपाईंलाई सहायता गर्ने र बुझ्न सक्ने व्यक्तिसँग कुरा गर्ने।
- आफ्नो सामान्य दिनचर्यामा रहने र व्यस्त रहन प्रयास गर्ने।
- निश्चित ठाउँहरू वा गतिविधिहरूबाट टाढा बस्दा आफ्नो बाटो नगुमाउने।
- आराम गर्न समय छुट्याउने।
- नियमित व्यायामको लागि समय निकाल्ने।
- आफ्नो परिवार र साथीहरूलाई आँफुलाई चाहिने मद्दत बारे बताउने, जस्तै समय बिताउने वा कुरा गर्ने साथी।
- योग, श्वासप्रश्वास वा ध्यान जस्ता आराम गर्ने तरिकाहरू अपनाउने । तपाईं आफूलाई मनपर्ने कामहरू पनि गर्न सक्नुहुन्छ, जस्तै संगीत सुन्ने वा बागवानी गर्ने।
- तपाईंले महसुस गरेका भावनाहरू व्यक्त गर्ने। तपाईं आफ्नो भावना कसैलाई सुनाउने वा लेख्न।
- महसुस गर्दा आफ्ना सम्झना र अनुभवहरूलाई सजिलो बनाउने। यसको बारेमा सोच्ने, त्यसपछि यसलाई अलग राख्ने। यदि यसले अन्य सम्झनाहरू ब्युझाउँछ भने, यसलाई हालको समस्याबाट अलग राख्ने प्रयास गर्ने।
यदि तपाईं अझै पनि संघर्ष गरिरहनुभएको छ भने, तपाईंले व्यावसायिक मद्दत प्राप्त गर्न सक्नुहुन्छ।
कुनै दर्दनाक घटनाबाट उत्पन्न हुने तनाव निरन्तर चल्न सक्छ। तपाईंले व्यावसायिक मद्दत खोज्नुपर्छ यदि:
- तपाईं घटना भएको एक महिना भन्दा बढी समय पछि सम्म भावनात्मक रूपमा विचलित महसुस गर्दै हुनुहुन्छ
- तपाईं सुन्न र खाली महसुस गरिरहनु भएको छ
- तपाईंमा तनावका शारीरिक संकेतहरू देखिन थालेको छ
- तपाईंको निद्रामा बाधा पुग्छ वा डरलाग्दो सपनाहरू देख्न जारी रहन्छ
- तपाईंको अनुभवहरूको सम्झना गराउने कुनै पनि कुराबाट बच्न प्रयास गर्नुहोस्
- आफ्नो भावना साटासाट गर्न कोही छैनन्
- तपाईंको परिवार र साथीभाइसँगको सम्बन्ध बिग्रँदै गएको पाउनुहुन्छ
- तपाईं विचलित हुनुहुन्छ
- तपाईं बढी मदिरा सेवन वा लागूपदार्थको प्रयोग गर्नुहुन्छ
- तपाईं काममा फर्कन वा दैनिक जिम्मेवारीहरू सम्हाल्न सक्नुहुन्न
- तपाईंका दर्दनाक अनुभव दोहोरी रहन्छ
- तपाईं सधैँ नर्भस महसुस गर्नुहुन्छ र सजिलै चकित पर्नुहुन्छ।
पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) (आघातपछिको तनावमा गडबडी) को बारेमा
कुनै कष्टदायी घटना पछि, केही मानिसहरू लगभग एक महिना वा सोभन्दा बढी समय पछि सम्म पनि निको नभएको पाउँछन्।
यस प्रकारको प्रतिक्रियाले तपाईंको जीवनलाई धेरै तरिकाले असर गर्न सक्छ। यसले परिवार र साथीहरूसँगको तपाईंको सम्बन्ध परिवर्तन गर्न सक्छ वा तपाईंलाई काम गर्न गाह्रो बनाउन सक्छ।
यो पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर, वा PTSD हुन सक्छ।
यदि तपाईंलाई लाग्छ कि तपाईं PTSD अनुभव गर्दै हुनुहुन्छ भने, तपाईंले स्वास्थ्य पेशेवरको मद्दत लिनु पर्छ।
यदि कुनै पनि समयमा तपाईं आफ्नो मानसिक स्वास्थ्य वा प्रियजनको मानसिक स्वास्थ्यको बारेमा चिन्तित हुनुहुन्छ भने, लाइफलाइनमा फोन गर्नुहोस् 13 11 14।