Summary
Read the full fact sheet- तपाईंले आफ्नो बालबालिकालाई कष्टदायी वा डरलाग्दो चोटको अनुभवहरू बाट निको पार्न मद्दत गर्न सक्नुहुन्छ। यस्ता अनुभवहरू निम्न हुन सक्छन्: सवारी दुर्घटनाहरू, डढेलो र बाढीहरू, परिवारमा अचानक बिरामी पर्नु वा मृत्यु हुनु, अपराध, दुर्व्यवहार वा हिंसा
- बालबालिकाहरूले निम्न कुरा खोज्नेछन्: तपाईं आफैँले संकटको सामना कसरी गर्नुहन्छ, तपाईं उनीहरूको भावना र व्यवहारप्रति कस्तो प्रतिक्रिया दिनुहुन्छ
- यी सुझावहरूले तपाईंलाई आफ्नो बालबालिकासँग उनीहरूको अनुभवको बारेमा कुराकानी गर्न मद्दत गर्न सक्छन्। उमेर अनुसार बुझ्ने तरिकाले आफ्ना बालबालिकालाई तथ्यहरू बताउनु महत्त्वपूर्ण छ।
- तपाईंले सधैँ व्यावसायिक सहायता खोज्न सक्नुहुन्छ। यसको सुरुवात गर्नको लागि उत्तम ठाउँ तपाईंको पारिवारको चिकित्सक (जी.पी.) कहाँ हो।
On this page
बालबालिकाहरूले आघातप्रति कस्तो प्रतिक्रिया जनाउँछन्
कष्टकर वा डरलाग्दो अनुभवप्रति बच्चाको प्रतिक्रिया निम्न कुराहरूमा निर्भर हुन सक्छ:
- उनीहरूको उमेर
- उनीहरूको व्यक्तित्व
- तपाईं वा तपाईंको परिवारले कस्तो प्रतिक्रिया दिइरहेका छन्?
तपाईंको बच्चाले तपाईंले अपेक्षा गरेअनुसार प्रतिक्रिया नदिन पनि सक्छन्। उनीहरू:
- अन्तर्मुखी – क्रियाकलापहरूमा रुचि गुमाउन सक्छन्। कम आत्मविश्वासी, शान्त स्वभाव, वा बच्चाको जस्तो व्यवहार गर्न सक्छन्।
- सोचमा डुब्ने – अनुभवलाई पुन: जागृति गर्न आवश्यक हुन सक्छ। उदाहरणका लागि, दोहोर्याइ-दोहोर्याइ खेल वा रेखाचित्र मार्फत। तपाईंको बच्चा भविष्यमा हुने घटनाहरूबाट डराएको हुन सक्छ वा डरलाग्दो सपना देख्न सक्छ।
- चिन्तित - ध्यान केन्द्रित गर्न वा ध्यान दिन समस्या हुन सक्छ। उनीहरू सधैं तपाईंसँग नजिक रहन चाहन सक्छन्, निद्रामा समस्या आउन सक्छ वा सजिलै निराश हुन सक्छन्।
- अस्वस्थ -टाउको दुख्ने र पेट दुख्ने हुन सक्छ।
तपाईंको बच्चा ढिलो प्रतिक्रिया जनाउने हुन सक्छ। केही बच्चाहरू ठीकै भए जस्तो देखिन्छन् तर दिन, हप्ता वा महिनौं पछि पनि प्रतिक्रिया जनाउन सक्छन्।
दर्दनाक घटनाको बारेमा कसरी कुरा गर्ने
यदि तपाईं आफ्नो बच्चासँग इमानदार भएमा यसले उनीहरुलाई मद्दत गर्नेछ। तपाईंले:
- आफ्नो बच्चालाई सुरक्षित महसुस गराउनुहोस् र त्यस्तो घटना सक्किसकेको भनी आश्वस्त पार्नुहोस्। तपाईंले उनीहरूलाई धेरै पटक आश्वस्त पार्नु पर्ने हुन सक्छ।
- आफ्नो बच्चाको कुरा सुन्नुहोस्। उनीहरूको चिन्ता र भावनालाई गम्भीरतापूर्वक लिनुहोस्।
- उनीहरु कस्तो महसुस गरिरहेका छन् भन्ने कुरा तपाईंले सुन्न चाहेको आफ्नो बच्चालाई थाहा दिनुहोस्।
- के भएको थियो भन्ने कुरा आफ्नो बच्चालाई उसको उमेर अनुसार उपयुक्त तरिकाले बताउनुहोस्। उनीहरूले बुझ्ने भाषा प्रयोग गर्नुहोस्। तपाईंको बच्चालाई आधारभूत तथ्यहरू थाहा नभएको खण्डमा, उसले आफैँ के भएको थियो भन्ने कुरा पत्ता लगाउने प्रयास गर्न सक्छ। उनीहरूले कथा पूरा गर्न आफ्नो कल्पनाशक्ति वा सीमित जानकारी प्रयोग गर्न सक्छन्। यसले तपाईंको बच्चामा थप चिन्ता र भ्रम पैदा गर्न सक्छ।
- तपाईंको बच्चालाई यो उनीहरुको गल्ती होइन भन्ने कुरा थाहा दिनुहोस्। तिनीहरू अनाज्ञाकारी भएको अवस्थामा वा कसै प्रति नराम्रो सोचेको अवस्थामा तिनीहरूले यस्तै सोच्न सक्छन्।
- पारिवारिक रुपमा घटनाको बारेमा कुरा गर्नुहोस्। बालबालिका सहित सबैलाई आफ्नो भनाइ राख्न दिनुहोस्। यसले सबैलाई सहायता प्राप्त भएको, कुरा सुनिएको र बुझिएको महसुस गराउन मद्दत गर्छ।
- मानिसहरूले दुःखको बेला कसरी प्रतिक्रिया दिन सक्छन् भन्ने बारेमा आफ्नो बच्चासँग कुरा गर्नुहोस्। यी परिस्थितिहरूमा उनीहरूको भावना सामान्य हो भनी बताउनुहोस्। समयसँगै उनीहरू राम्रो महसुस गर्नेछन् भनेर तपाईंले उनीहरूलाई आश्वस्त पार्न सक्नुहुन्छ।
दर्दनाक घटनाप्रति कसरी प्रतिक्रिया दिन सकिन्छ
तपाईंको बच्चाको भावना र व्यवहारप्रति तपाईंको प्रतिक्रियाले उनीहरूको स्वास्थ्यलाभमा असर गर्नेछ। निम्न कुरा महत्त्वपूर्ण छ:
- उनीहरूको व्यवहारमा आएको परिवर्तनको बारेमा बुझ्ने। बालबालिकाहरूले कष्टकर वा डरलाग्दा घटनाहरू प्रति फरक-फरक तरिकाले प्रतिक्रिया जनाउँछन्। उनीहरूको व्यवहारमा परिवर्तन आउनु, जस्तै रिसाउनु वा ओछ्यानमा पिसाब फेर्नु सामान्य हो।
- आफ्नो बच्चालाई थप ध्यान दिनुहोस्। यो सुत्ने समयमा र अलग हुने अन्य समयमा महत्त्वपूर्ण हुन सक्छ।
- आफैँले मद्दत गर्नुहोस्। बालबालिकाहरूले संकट बारे बुझ्न र प्रतिक्रिया दिन आफ्ना आमाबाबु वा हेरचाहकर्ताहरूतिर हेर्नेछन्। उनीहरूको डर बुझ्न र सान्त्वना दिन उनीहरूलाई आफ्नो वरिपरि परिपक्व व्यक्तिहरू चाहिन्छ। यदि तपाईं दुःखी हुनुहुन्छ भने, तपाईंले पनि सहयोग पाउन सक्नुहुन्छ। यदि तपाईंले त्यसो गर्नुभएन भने, यसले तपाईंको बच्चाको डर र तनाव बढाउन सक्छ।
- आफ्नो बच्चासँग उपयुक्त तरिकाले आफ्ना भावनाहरूबारे कुरा गर्नुहोस्। यसले उनीहरूलाई आफ्नो कुरा राख्न मद्दत गर्न सक्छ।
- सबैजना फरक हुन्छन् र फरक भावनाहरू हुन सक्छन् भन्ने कुरा सम्झनुहोस्। तपाईंको बच्चाले पनि तपाईंले जस्तै महसुस गरोस् भन्ने आशा नगर्नुहोस्।
- आफ्नो बच्चालाई उनीहरुको जीवन उनीहरुकै नियन्त्रणमा भएको अनुभूति गर्न दिनुहोस्। सानातिना निर्णयहरू गर्न दिँदा पनि उनीहरूलाई उनीहरुकै नियन्त्रणमा रहेको महसुस गराउन सकिन्छ। यो विशेष गरी संकटको लथालिड़ग अवस्था पछिको लागि निकै महत्त्वपूर्ण हुन्छ। असहाय महसुस गर्ने बालबालिकाहरूले बढी तनाव अनुभव गर्न सक्छन्।
- आफ्नो बच्चा प्रति अत्यधिक सुरक्षात्मक भूमिका निभाउने प्रयास नगर्नुहोस्। संकटपछि आफ्नो परिवारलाई नजिक राख्न चाहनु सामान्य हो। तर उनीहरूलाई आफ्नो संसार सुरक्षित छ भन्ने महसुस गराउनु महत्त्वपूर्ण छ।
दर्दनाक घटना पछिका पारिवारिक दिनचर्याहरू
निम्न कुरा महत्त्वपूर्ण छ:
- सकेसम्म आफ्नो नियमित दिनचर्यामा लागिरहनुहोस्। यो बच्चाहरूलाई आश्वस्त पार्ने कुरा हो।
- यदि तपाईंको बच्चाले आफ्नो सामान्य दिनचर्या व्यवस्थापन गर्न सक्दैन भने उसलाई आश्वस्त पार्नुहोस्। यसमा स्कूल जाने वा घरायसी काम गर्ने जस्ता कुरा समावेश गर्न सकिन्छ।
- नयाँ दिनचर्या, नयाँ जिम्मेवारी वा उनीहरूको व्यवहार प्रतिको नयाँ अपेक्षा जस्ता परिवर्तनहरू ल्याउने काम नगर्नुहोस्।
- घरमा परिपक्व व्यक्तिको रूपमा आफ्नो भूमिका कायम राख्नुहोस्। यदि तपाईं संघर्ष गर्दै हुनुहुन्छ भने, आफ्नो बच्चाको मद्दतमा भर पर्नु हुँदैन।
तपाईंको बच्चालाई यो अवस्थाबाट निको पार्न कसरी मद्दत गर्ने:
निम्न कुरा महत्त्वपूर्ण छ:
- आफ्नो बच्चालाई खेल्न प्रशस्त समय दिनुहोस्। यो खेलकुद, उनीहरूको मनपर्ने खेल र परिचित साथीहरूसँगको गतिविधि हुन सक्छ।
- रमाइलो गर्ने समय दिनुहोस्। हाँसो, रमाइलो समय र सुख बाड्नले परिवारका सबै सदस्यहरूलाई राम्रो महसुस गराउन सक्छ।
- याद राख्नुहोस् कि तपाईंको बच्चाको भोक लाग्ने बानीमा परिवर्तन आउन सक्छ। यदि उनीहरू खाना खाने समयमा खान मन गर्दैनन् भने, यसको सट्टा दिनभरि लगातार खाजा दिनुहोस्।
- तपाईंको बच्चाको पर्याप्त आराम र निद्राको सुनिश्चित गर्नुहोस्।
- उनीहरूलाई शारीरिक व्यायाम गर्न मद्दत गर्नुहोस्। यसले तपाईंको बच्चालाई तनाव कम गर्न र उनीहरूको निद्रामा सुधार गर्न मद्दत गर्नेछ।
- गुलियो, रंग मिश्रित खाना र मिठाई सीमित गर्नुहोस्।
- तपाईंको बच्चालाई शारीरिक रूपमा आराम गर्न मद्दत गर्नुहोस्। जस्तै न्यानो पानीले स्नान गरिदिने, मालिस गरिदिने, कथा सुनाउने र काखमा लिने जस्ता कुरा गर्नुहोस्।
- यदि तपाईंको बच्चालाई निराश वा चिन्तित बनाउँछ भने क्रियाकलाप परिवर्तन गर्नुहोस्। उदाहरणका लागि, तपाईंको बच्चालाई चिन्तित बनाउने वा डर लाग्ने टेलिभिजन कार्यक्रम।
यदि कुनै पनि समयमा तपाईं आफ्नो मानसिक स्वास्थ्य वा प्रियजनको मानसिक स्वास्थ्यको बारेमा चिन्तित हुनुहुन्छ भने, लाइफलाइनमा फोन गर्नुहोस् 13 11 14।
कहाँबाट सहयोग लिने
- तपाईंको जी.पी. (डाक्टर)
- तपाईंको मातृ तथा बाल स्वास्थ्य नर्स
- तपाईंको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्र
- बाल रोग विशेषज्ञ वा बाल तथा किशोरकिशोरी मनोचिकित्सक - डाक्टरले सिफारिस गर्नेछन्
- फोनिक्स अष्ट्रेलिया सेन्टर फर पोस्ट-ट्रमाटिक मेन्टल हेल्थ (Phoenix Australia Centre for Post-traumatic Mental Health) टेलिफोन (03) 9035 5599
- सेन्टर फोर ग्रिभ एण्ड ब्रिभमेन्ट (Centre for Grief and Bereavement) टेलिफोन 1800 642 066
तपाईंले निम्नबाट पनि सल्लाह लिन सक्नुहुन्छ:
- लाइफलाइन (Lifeline) टेलिफोन 13 11 14
- ग्रिभलाइन (GriefLine) टेलिफोन 1300 845 745
- बियोन्डब्लु (beyondblue) टेलिफोन 1300 22 4636
- बालबालिका हेल्पलाइन (Kids Helpline) टेलिफोन 1800 55 1800
- नर्स-अन-कल (NURSE-ON-CALL) टेलिफोन 1300 60 60 24 – विशेषज्ञ स्वास्थ्य जानकारी र सल्लाहको लागि (२४ घण्टा, ७ दिन)
- अष्ट्रेलियाली अभिभावकत्व (Australian Parenting) वेबसाइट